वीर्य स्खलन कसरी हुन्छ ?

पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सके मानव यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख (orgasm) पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ। यही वीर्यमै शुक्रकीटहरू हुन्छन्।

तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, त्यसको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ। अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम। वीर्यको रंग सामान्यतः सेतो हुने भए पनि हल्का पहेँलो वा खरानी रंगको हुनसक्छ। यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ। वीर्य स्खलन हुनासाथ यो केही वाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ। रासायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन्। माथि नै भनिसकियो कि अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथसाथै बाहिर निस्कन्छ। शरीरभित्रको वातावरणको तापक्रम यसमा सर्ने भएकाले यसको तापक्रम पनि हाम्रो शरीरको जस्तै हुन्छ।